१४ भाद्र २०८१, शुक्रबार ०९:५०
काठमाडौ १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि हालतमा माओवादी पार्टी नफुट्ने बताएका छन । शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले डिजाइन गरेर पार्टी फुट्दैछ भन्ने भ्रम आमनागरिकमा छरिएको बताए ।
‘पार्टी केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा परामर्श छलफलका लागि हामी देश दौडाहामा लागेका छौं, अहिले नै नेतृत्व हस्तान्तरणको विषय उठेको छैन,’ उनले भने, ‘प्रचण्डलाई अब अध्यक्ष पदको आवश्यक छैन, देश दुनियाँले मलाई क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेका छन् ।’
उपमहासचिव जनार्दन शर्माले पेस गरेको प्रतिवेदनलाई लिएर माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अघि बढेको अध्यक्ष दाहालको दाबी छ । पार्टीको राम्रो टिम बनाउन म लागिपरेको छु,ु उनले भने ।