x

महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३३औं वार्षिक साधारण सभा सम्पन्न

२५ आश्विन २०८२, शनिबार १४:४७

मेलम्ची ।
समता मूलक र आत्मनिर्भर समाज निर्माणको अभियानमा सक्रिय महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष सञ्च माया तामाङले गर्नुभएको थियो। सो अवसरमा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, पूर्व उपप्रमुख भगवती नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, पूर्व संविधानसभा सदस्य डोल्मा तामाङ, पूर्व प्रदेश मन्त्री इन्द्र माया तामाङ, वडा नं. ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, शक्ति समूह नेपालकी संस्थापक अध्यक्ष चरी माया तामाङ, फेयरमेड फाउन्डेसन नेपालका टिम लिडर डम्बर सिंह गुरुङ लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

सभामा केन्द्रका ११३ जना आजीवन सदस्य र ४८ जना साधारण सदस्य सहित कुल १६१ जना सदस्यको उपस्थिति रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगतिविवरण प्रस्तुत गरिएको र केन्द्रका आगामी योजना तथा गतिविधि सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।

वक्ताहरूले केन्द्रले विगत तीन दशकदेखि महिलाको सशक्तिकरण, आत्मनिर्भरता र समान अवसरमा आधारित समाज निर्माणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।