भोटेनाम्लाङ माविको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२६ फाल्गुन २०८१, सोमबार १५:२८

पाँचपोखरी थाङपाल गाउँपालिका-७ स्थित भोटेनाम्लाङ माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभयो। साथै, उत्कृष्ट शिक्षाका लागि गाउँपालिकाले विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय भाषा तथा संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा वडा अध्यक्ष सुके तामाङ, शिक्षा शाखा प्रमुख कमला खनाललगायतका अतिथिहरूले विद्यालयको विकासमा सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

कार्यक्रममा शिव सुनार अक्षयकोष स्थापना गर्नुहुने सुरेन्द्र सुनारले अभिभावकविहीन तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक गोपिप्रसाद पराजुलीले प्रस्तुत गर्नुभयो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष वरदान तामाङले विद्यालयको वर्तमान अवस्था, उपलब्धि, चुनौती तथा भावी रणनीति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो।

त्यसैगरी, विद्यालयले जग्गादाता, चन्दादाता, अक्षयकोष स्थापनाकर्ता, उत्कृष्ट अभिभावक, अनुशासित विद्यार्थी, पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक तथा कार्यरत शिक्षकहरूलाई सम्मान प्रदान गरेको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो।

कार्यक्रमकै अवसरमा कक्षा १० का एसईई तयारी विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीहरूले औपचारिक रूपमा विदाई गरेका थिए।

कार्यक्रमको सञ्चालन अर्जुनदेव भट्ट र अमृता लामाले गर्नुभएको थियो।