११ असार २०८१, सोमबार १४:३७
काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । गत सातानै सुरु भएको नगर सभाको बैठकमा दलहरुबीच कुरा नमिलेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन शाहले कार्यपालिका सदस्यलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै आपत्ति जनाए । उनले बालेनले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताउँदै कमजोरी सच्याउन नमाने रामराम भन्न सकिन्छ तर काँध थाप्न नसकिँने प्रष्ट पारेका छन् ।
उनले भने, ‘हामीले स्वतन्त्र मेयर भनेर कहिले अन्यथा सोचेका छैनौं, राम्रो काम गर्दा साथ दिएका छौं तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिनँ ।’
पराजुलीले २ असारमा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्न उठाएकै भरमा आफूहरुलाई निरंकुश भनेको भन्दै आपत्ति जनाए । ‘हामी जनताबाट निर्वाचित भएका हौं, अधिनायकवाद विरुद्ध लडेर आएका हौं । तर स्टाटसमा हामीलाई निरंकुश भन्नुभयो । तर हामी कसरी अराजक हुन सक्छौं ? हामी मिलेर जान चाहन्छौं,’पराजुलीले भने ।
२ असारमा एमालेबाट निर्वाचित वडाध्यक्ष पराजुलीसहित नेपाली कांग्रेस र नेकपा एसका वडाध्यक्ष मिलेर संशोधन प्रस्ताव ल्याउने कोशीस गरेपछि बालेन आक्रोशित बनेका थिए । नगर सभाको बैठक स्थगित भएपछि फेसबुकमा स्टाटस् लेख्दै उनले अर्को बैठकमा आउँदा एमाले र कांग्रेसको धङधङी लिएर नआउन भनेका थिए । सोही विषयमा वडाध्यक्षहरुले आज आपत्ति जनाएका हुन् ।