चौतारा, — बलेफी गाउँपालिका–६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। शनिबार सम्पन्न सो कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ का योजनाहरू निर्माण, अघिल्लो वर्षको समीक्षा र विकासका सम्भाव्य क्षेत्रहरूबारे गहन छलफल गरिएको थियो।
वडाध्यक्ष तेजबहादुर पराजुलीका अनुसार काठमाडौंमा बसोबास गरिरहेका वडावासीहरूसँग प्रत्यक्ष संवाद गरी राय, सुझाव र सरोकार संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उहाँले स्थानीय योजना निर्माणमा यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्वाधार विकास, सामाजिक रूपान्तरण, व्यवसायिक उन्नयन, कृषि तथा पर्यटन प्रवर्द्धनका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे। सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, होमस्टे सञ्चालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा स्थानीय सरकारको सक्रियता आवश्यक रहेकोमा जोड दिइयो।
व्यवसायी तथा समाजसेवी भरत पराजुलीले स्थानीय विकासमा सरकार मात्र नभई नागरिकहरू पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। सहभागीहरूले निरन्तर संवाद र सहकार्यद्वारा योजना छनोट र कार्यान्वयन प्रभावकारी हुने भन्दै यस्ता कार्यक्रम नियमित गर्न आग्रह गरे।
कार्यक्रममा रामकृष्ण पराजुली, गणेश तिमल्सिना, राजु चौलागाई, दिनेश दिक्षित र शुकुलाल तामाङलगायतले विकासका विभिन्न पक्षमा आफ्ना सुझाव राख्नुभएको थियो। कार्यक्रममा राजु चौलागाईमार्फत जालवारी आधारभूत स्वास्थ्य केन्द्र र सातकन्या आधारभूत विद्यालयलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको थियो।
सञ्चारकर्मी विदुर आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा सहभागीहरूले सबैको सहभागिता सुनिश्चित गर्न वडाध्यक्ष पराजुलीले गरेको प्रयासको प्रशंसा गरे। अध्यक्ष पराजुलीले संकलित सुझावहरू आगामी योजनाहरूमा समावेश गरी स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

