१६ माघ २०८०, मंगलवार ०४:५३
काठमाडौं– बढ्दो सञ्चिति घाटाले कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपातमाथिको दबाब बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल ओर्लिएको कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात (टायरवान क्यापिटल) दोस्रो त्रैमासमा थप घटेको छ।
बैंकको बढ्दो खराब कर्जाका कारण लोन लस प्रोभिजनिङ बढ्दै गएपछि बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुँदा पुँजीकोषमा दबाब बढेको हो।
वितरणयोग्य नाफालाई बैंकको सञ्चिति नाफा (रिटेन अर्निङ) अन्तर्गत सारेर प्राथमिक पुँजीकोषमा गणना गर्न पाउने व्यवस्था ‘क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५’ ले गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमबाटै बैंकको रिटेन अर्निङ ऋणात्मक हुँदा प्राथमिक पुँजीकोषमाथि दबाब बढेको हो। यस अवधिमा बैंकको रिटेन अर्निङ २ अर्ब १६ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।