x

बजार व्यवस्थापनमा साथ नदिँदा नेपाल टेलिकमको गाडी युवाहरूको नियन्त्रणमा

१८ कार्तिक २०८२, सोमबार १२:०३

मेलम्ची, कात्तिक — मेलम्ची बजारमा सरसफाइ र सौन्दर्यकरण अभियान सञ्चालन गर्दै आएका युवाहरूले नेपाल टेलिकम बनेपाको सेवा गाडी नियन्त्रणमा लिएका छन्।

प्रयोगविहीन पोलहरूमा रहेका पुराना तारहरू हटाएर बजारलाई सुन्दर बनाउन थालेका युवाहरूले पटकपटक अनुरोध गर्दा पनि नेपाल टेलिकमले सहयोग नगरेको भन्दै गाडी नियन्त्रणमा लिएको बताएका छन्।

उनिहरूका अनुसार टेलिकमका प्रतिनिधिहरू निरीक्षणका लागि आए पनि काम अघि नबढेकाले बाध्य भएर यस्तो कदम चालिएको हो। “बजारलाई व्यवस्थित बनाउने हाम्रो अभियानमा सहयोग माग्दा टेलिकमले बेवास्ता गर्‍यो,” एक स्थानीय युवाले बताए, “अब काम नसकिएसम्म गाडी छाड्नेछैनौं।”

मेलम्ची युवा समूहले पछिल्लो समय बजारको सरसफाइ, अव्यवस्थित तार हटाउने, र सुन्दर सहर अभियान सञ्चालन गरिरहेको छ।

युवाहरूले नेटवर्कमा बारम्बार समस्या आउने, मेलम्चीमा टेलिकमको स्थायी सम्पर्क व्यक्ति नहुनु, र सेवाग्राहीले सास्ती पाउँदै आएको गुनासो पनि गरेका छन्।
तिनीहरूले प्रयोगविहीन तार हटाई प्रयोगमा रहेका तार व्यवस्थित गर्न आग्रह गरेका छन्।