२० कार्तिक २०८२, बुधबार ०८:०४
नवलपुर ।
इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा कार्यकक्षमै कुटपिट गरिएको घटनाप्रति नेपाल शिक्षक महासंघ, इन्द्रावती शाखाले कडा आपत्ति जनाएको छ।
महासंघका अनुसार मङ्गलवार विद्यालयसम्बन्धी सामान्य छलफलका क्रममा विद्यालयका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले प्रधानाध्यापक भण्डारीमाथि हातपात गर्नुका साथै अशोभनीय गालीगलौज र अपशब्द प्रयोग गरेका थिए। उक्त घटनामा भण्डारीको अनुहार र खाँमा गम्भीर चोट लागेको बताइएको छ।
महासंघले विज्ञप्तिमार्फत यस आपराधिक कार्यको तीव्र भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, पीडित शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघले यस्ता घटनाले शिक्षकहरूको मनोबलमा गम्भीर आघात पुर्याउने उल्लेख गरेको छ।
विद्यालयमै कार्यरत शिक्षकमाथि भएको कुटपिट घटनाले शैक्षिक क्षेत्र आक्रोशित बनेको छ। शिक्षक तथा विद्यालय प्रमुखहरू आफ्नै कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था अत्यन्त चिन्ताजनक रहेको भन्दै घटनाको गम्भीर छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठेको छ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार घटनासम्बन्धी सामान्य निवेदन प्राप्त भएको भए पनि औपचारिक जाहेरी भने अहिलेसम्म दर्ता भएको छैन ।

