काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको वृहत्तर हितका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।
जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न मुलुकका राजदूतले भेट गर्ने क्रम जारी छ । यसअघि चिनियाँ राजदूत चेन सङ र बुधबार भारतीय राजदूत नविन श्रीवास्तवले समेत शिष्टाचार भेट गरेका थिए ।
यसैगरी, बिहीबार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सदैव सहयोगी रहने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
