१३ कार्तिक २०८२, बुधबार १३:४३
सिन्धुपाल्चोक, कात्तिक १२ – पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरूमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन र सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा कात्तिक १० गतेदेखि १२ गतेसम्म चलेको उक्त तालिममा गाउँभित्रका सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण नेपाल वित्तीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ कार्यक्रम अधिकृत नवीनराज दाहाल र गाउँपालिकाका रोजगार संयोजक तथा सहकारी फोकल पर्सन ध्रुवप्रसाद लामिछानेले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टासी लामा ज्युले गाउँपालिकाले सञ्चालन गरिरहेको सहकारी सम्बन्धी नीति तथा कार्यक्रमबारे जानकारी दिँदै सहकारीहरूको व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र पेशागत दक्षता कायम गर्न आग्रह गर्नुभयो। उहाँले नमुना सहकारी अभियानमार्फत गाउँपालिकालाई आर्थिक सबलीकरणतर्फ अघि बढाउन सबै सहकारीलाई एकजुट भएर काम गर्न पनि अनुरोध गर्नुभयो।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले सहकारी संस्था कानुन अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै सहकारी सञ्चालनमा कुनै समस्या देखिएमा गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका दौरान सहभागीहरूले सहकारी व्यवस्थापन, आर्थिक पारदर्शिता, सूचना प्रणालीको प्रभावकारी प्रयोग र सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनी पक्षबारे विस्तृत प्रशिक्षण प्राप्त गरेका थिए।

