सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल — पाँचपोखरी थाङपाल गाउँपालिकाको १७औं गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष टासी लामाको सभाध्यक्षतामा सुरु भएको छ। अधिवेशनको अवसरमा विभिन्न वडाका अध्यक्षहरूले संघीय र प्रदेश सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. २ का अध्यक्ष बाबुलाल स्याङबोले शुभकामना मन्तव्य दिँदै प्रदेश र संघ सरकारले गाउँपालिकालाई निरन्तर उपेक्षा गर्दै आएको गुनासो गरे। “सबै मिलेर अघि बढ्न आवश्यक छ,” भन्दै उनले आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, नेकपा एमालेबाट निर्वाचित वडा नं. ६ का अध्यक्ष तथा पालिकाका प्रवक्ता नारायण भट्टराईले काठमाडौं नजिकै भए पनि पाँचपोखरी ‘बत्तिमुनिको अँध्यारो’ जस्तो भएको टिप्पणी गरे। उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै, “हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरेका छौं र आन्तरिक स्रोतमार्फत शिक्षक व्यवस्थापनसमेत गरेका छौं,” भने।

राप्रपाबाट निर्वाचित वडा नं. ४ का अध्यक्ष कुलबहादुर बस्नेतले संघीय र प्रदेश सरकारको बजेटीय विभेद आपत्तिजनक रहेको बताउँदै नेताहरूले गरेका प्रतिबद्धता पुरा नगरेको गुनासो गरे। विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भवन उद्घाटनको बेला प्रतिबद्धता जनाएको मेलम्ची–भोताङ सडकका लागि अझै बजेट विनियोजन नभएकोप्रति जनप्रतिनिधि र स्थानीय आक्रोशित देखिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।