काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण असुरक्षित अवस्थामा रहेका नेपालीलाई सरकारले प्राथमिकताका साथ उद्धार गर्न थालेको हो।

पहिलो चरणअन्तर्गत शनिबार बिहान साढे ११ बजे नेपाल वायुसेवा निगम को जहाजमार्फत २ सय ४२ जना नेपाली काठमाडौं ल्याइएका छन्। सोही उडानबाट चारवटा शव पनि नेपाल ल्याइएको छ।

आजै फ्लाई दुबई, हिमालयन एयरलाइन्स र एयर अरेबिया का उडानमार्फत थप नेपालीहरूलाई स्वदेश फर्काइँदैछ। समस्यामा परेका, बिरामी तथा यसअघि टिकट काटिसकेका यात्रुलाई प्राथमिकता दिइएको जनाइएको छ।

यूएईस्थित नेपाली दूतावासका अनुसार आर्थिक अभावमा रहेका (बेखर्ची) नेपालीहरूलाई दूतावासको सिफारिसका आधारमा निःशुल्क टिकटको व्यवस्था गरिएको छ।

सरकारले पश्चिम एसियामा विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकको सुरक्षित उद्धारलाई तीव्रता दिएको जनाएको छ।