१ मंसिर २०८२, आईतवार १२:१२
३० कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले देशभरका सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने तयारी गरेको छ। पार्टीका विभिन्न घटकहरू एकीकृत भई बनेको नयाँ संरचनाको पूर्वपदाधिकारीहरूको बैठक आइतबार पेरिसडाँडामा बसेको थियो।
बैठकपछि पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार प्रदेशवार सभा कहिले–कहाँ गर्ने भन्ने विस्तृत तालिका भने अझै तय हुन बाँकी छ।
“भोलि (सोमबार) बेलुकीसम्ममा प्रदेश–प्रदेशमा सन्देश सभा गर्ने समय र स्थान टुंगो लगाइनेछ,” नेता पाण्डेले बताए। उनका अनुसार सातै प्रदेशस्तरीय कार्यक्रमका लागि शीर्ष नेताहरू बसेर सुझावसहित विस्तृत योजना बनाउने काम भइरहेको छ।
पाण्डेका अनुसार मंसिर ९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश, महत्वपूर्ण स्थान र विभिन्न जिल्लाहरूमा सन्देश सभा सञ्चालन गरिनेछ। “आजको बैठकमा आगामी दिनमा कहाँ–कहाँ र कहिले–कहिले सभा गर्ने भन्ने विषयमा व्यापक छलफल भयो,” उनले बताए।
पार्टी एकीकरणपछि जनतामाझ आफ्नो सन्देश पुर्याउने उद्देश्यसाथ कार्यक्रम अघि बढाइने पार्टीको भनाइ छ।
