निम्नवर्गीयका लागि चौतारा साँगाचोकगढी नगरले निःशुल्क स्वास्थ्य बिमा गर्ने

१४ फाल्गुन २०८१, बुधबार ०८:०१

चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक रूपमा कमजोर समुदायका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम नगरप्रमुख कृष्णप्रसाद सापकोटाको नेतृत्वमा ल्याइएको हो। उनले निर्वाचित भएपछि नै आर्थिक र व्यावहारिक कारणले स्वास्थ्य सेवाबाट वञ्चित समुदायका लागि निःशुल्क बिमा उपलब्ध गराउने घोषणा गरेका थिए। यस कार्यक्रमबाट नगरभित्रका गरीब र कमजोर वर्गका मानिसहरू लाभान्वित हुनेछन्।

नगरपालिकाको जनस्वास्थ्य शाखा अधिकृत दिनेश नेपालका अनुसार, प्राथमिकताका आधारमा लाभग्राही छनोट गरिएको छ। जनयुद्ध र जनआन्दोलनमा घाइते ४० जना, सहिद तथा बेपत्ता परिवारका करिब ७० जनालाई निःशुल्क बिमा प्रदान गरिनेछ। दोस्रो प्राथमिकतामा दीर्घरोगी, अपांग–अशक्त व्यक्ति, र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिमा उपलब्ध गराइनेछ। नगरभित्र यस्ता समुदायका करिब दुई सय मानिस छन्। दीर्घरोगीलाई औषधोपचारका लागि थप १५ हजार रुपैयाँ दिने नीति पनि छ।

तेस्रो प्राथमिकतामा दलित परिवार, सीमान्तकृत समुदाय (माझी, दनुवार, र पहरी), ६० वर्षमाथिका ज्येष्ठ नागरिक, र नगरभित्र रहेका खेलाडीहरू समावेश छन्। खेलाडीहरूका लागि निश्चित मापदण्ड बनाएर बिमा गरिने नीति छ। गत महिना सम्पन्न १६औँ नगरसभाले अत्यावश्यक समुदायका मानिसलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पारित गरेको थियो।

यस कार्यक्रमका लागि नगरले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। नगरप्रमुख सापकोटाले बताए अनुसार, हरेक वर्ष बिमा रकम बढाउँदै जाने र विपन्न वर्गलाई मापदण्डअनुसार समेट्दै लाने नीति लिइएको छ। उनले संविधानले निर्दिष्ट गरेको मौलिक अधिकारलाई स्थानीय सरकारले संरक्षण र मजबुत पार्ने नीति लिएको बताए। उनले भने, ‘स्वास्थ्योपचारमा पहुँच नपुग्ने वर्गलाई क्रमशः निःशुल्क स्वास्थ्य बिमा गरिनेछ।’

नगर सरकारले गाउँघर क्लिनिक, स्वास्थ्य शिविर, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगसहित साँगाचोक भञ्ज्याङमा आँखा अस्पताल, फिजियोथेरापी र ब्लड बैंक स्थापना गर्ने तयारी पनि गरेको छ। यसले नगरका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा छ।