नवलपुर, भदौ ५ ।
नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा भव्यतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा समुदायिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रमुख अतिथि मिजारले तीज पर्वलाई शिव–पार्वतीसँग जोडिएको धार्मिक–सांस्कृतिक पर्व भएको उल्लेख गर्दै महिलाहरूले “शिव पार्वती बन्ने नभई असल बन्ने सोच” लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरू जन्मदेखि नै पुरुष सरह अधिकारका साथ जन्मिने भए पनि आफ्नो कर्तव्यमा पछि नपर्नुपर्ने धारणा राख्नुभयो । महिलाले अवसर पाए प्रत्येक क्षेत्रमा योगदान पुर्याउन सक्ने उदाहरण प्रस्तुत भएको भन्दै उहाँले महिला नेतृत्वमा रहेका स्थानीय तहहरू भ्रष्टाचारमुक्त र मितव्ययी ढङ्गले सञ्चालन भएको तर्क प्रस्तुत गर्नुभयो । साथै, उद्यमशील महिलाहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
विशेष अतिथि तथा इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङले महिला समाजको शक्ति भएको उल्लेख गर्दै बालबालिकाको भविष्य निर्माण महिलाकै हातमा रहेको बताउनुभयो । छोटो समयमा सफलतापूर्वक कार्यक्रम आयोजना गरेकोमा महिला सङ्घलाई धन्यवाद दिंदै उहाँले भातृ संस्थाहरूको सहकार्यको प्रशंसा गर्नुभयो ।
त्यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बिल बहादुर तामाङले पार्टीभित्र संघर्ष गरेका कार्यकर्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । महिला सङ्घले संगठनलाई अझ सबल बनाउने र लोकतन्त्रलाई बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महिला सङ्घकी केन्द्रीय सदस्य रन्जिता गिरीले महिलाहरू पुरुष भन्दा कुनै कुरामा कम नभएको बताउँदै तीज पर्व आपसी एकता र सद्भावको प्रतीक भएको स्मरण गराउनुभयो । नेपाल तामाङ सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष क्षेत्र तामाङले इन्द्रावतीकी महिलाहरू सक्रिय रुपमा अगाडि बढेको देखिएको बताउँदै महिला अधिकार र सांस्कृतिक संरक्षणमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा महिला सङ्घकी उपाध्यक्ष अष्ठमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा इन्द्रावती गाउँपालिकाका सभापति जीवन कुमार थापा मगर, महिला विभाग प्रमुख चित्र कुमारी खोखाली, कांग्रेस जिल्ला कार्यसमिति सदस्य सजिना श्रेष्ठ, महाधिवेशन प्रतिनिधि श्री लामा, भूतपूर्व सैनिक संघका मनिलोचन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाले अधिकार र एकताको लागि निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभएको थियो ।
