काठमाडौँ, १८ साउन – देशभर मनसुन सक्रिय रहँदा पछिल्लो १२ घण्टामा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आइतबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको छ।

विशेषगरी पूर्वी नेपालका केही स्थानमा भारी वर्षा भएको विभागको जानकारी छ। गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा अत्यधिक वर्षा रेकर्ड गरिएको बताइएको छ।

विभागका अनुसार आज रातिसम्म देशभर सामान्यतया आकाश बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहितका तराई क्षेत्रका धेरै स्थानहरूमा र पहाडी क्षेत्रमा समेत कतैकतै चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन विभागले आग्रह गरेको छ। निरन्तरको वर्षाले नदी नालामा पानीको बहाव बढ्ने र पहिरोको जोखिमसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।