दाताले गरे आफ्ना लगानीको अनुगमन

आजभन्दा करिब ३० वर्षअघि सिन्धुपाल्चोक जिल्लाको तत्कालीन कदम्बास गाविसस्थित कालीदेवी माविबाट शैक्षिक सुधारको कार्यमा सहयोग गर्दै आएको नेपाल हेल्फे वाइलिङ्गृस ई.भी. जर्मनीले २०७२ सालको भूकम्पअघि हालको चौतारा नगरपालिकाअन्तर्गतका धेरै विद्यालयहरूको भवन निर्माण लगायतका कार्यमा महत्वपूर्ण सहयोग गरेको थियो।

नेपालमा २०७२ साल वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पका कारण अधिकांश विद्यालयका भवन पूर्ण रूपमा नष्ट भएका थिए। त्यसपछिको अवस्था के हुने भन्ने विषय सबैका लागि चिन्ताको विषय बनेको थियो। तर, तत्कालै नेपाल हेल्फे वाइलिङ्गृस ई.भी. जर्मनीले अस्थायी भवनका रूपमा टेन्ट, वास र जस्ता प्रयोग गरेर निर्माण गरिएको टेम्पररी लर्निङ्ग सेन्टर (TLC) निर्माणमा मद्दत गरेको थियो। अहिले अधिकांश विद्यालयका भवनहरू भूकम्पअघि भन्दा बलियो र सबल बनेका छन्।

आफ्नो लगानीको विद्यालयहरूको अवस्था अवलोकन गर्नका लागि जर्मनीका मिखायल रेवेले नेतृत्वको करिब २३ सदस्यीय टोली सिन्धुपाल्चोक आएको छ। त्यसै क्रममा आज टोलीले श्री ज्ञान मन्दिर नमुना मावि, मेलचौरको अनुगमन गरेको थियो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक पुन्यप्रसाद गजुरेलले विद्यालयको विगतदेखि वर्तमानसम्मको संक्षिप्त जानकारी गराउनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालले आगामी दिनका लागि सहयोग गर्न मिखायल रेवेलेलाई परियोजना प्रस्ताव हस्तान्तरण गर्नुभएको थियो।

यसै अवसरमा विद्यार्थीहरूले मन्तव्य र सांगीतिक नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए। साथै, नेपाल हेल्फे वाइलिङ्गृस ई.भी. जर्मनीले पछिल्लो पटक उपलब्ध गराएको सहयोगबाट निर्माण गरिएको सभा हलको उद्घाटन मिखायल रेवेलेले गर्नुभएको थियो।