काठमाडौं, १२ असोज ।
दशैं मनाउन उपत्यकावासी आ–आफ्नो गृहजिल्लातर्फ फर्कन थालेसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या तीव्र रुपमा बढेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापनादेखि ११ गतेसम्म २ लाख ६७ हजार ४४१ जना उपत्यका छोडेका छन्। घटस्थापनाको दिन मात्रै ४० हजार ९२३ जना बाहिरिएका थिए भने असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६ र असोज १० तथा ११ गते दुई दिनमा मात्र ७२ हजार २३९ भन्दा बढीले उपत्यका छोडेका छन्।

यही अवधिमा ४५ हजार ४९३ सवारीसाधन उपत्यकाबाट बाहिरिएको छ। यता, उपत्यकामा भने ४१ हजार ५१४ सवारीसाधन भित्रिएका छन्। त्यस्तै, कूल १ लाख ५६ हजार ७८६ जना यात्रु काठमाडौँ प्रवेश गरेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार उपत्यकाबाट बाहिरिनेको संख्या निरन्तर बढ्दो क्रममा छ। उनले भने, “नागरिकहरू ठूलो संख्यामा बाहिरिन थालेसँगै राजमार्गमा सवारी चाप बढ्दै गएको छ भने उपत्यकाभित्र भने चाप क्रमशः कम हुँदै गएको छ।”

यो तथ्यांक थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट आवतजावत गर्ने सवारीसाधन र यात्रुको विवरणमा आधारित भएको ट्राफिक प्रहरीले जनाएको छ।