x

थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौँ साधारणसभा सम्पन्न

१ मंसिर २०८२, आईतवार १२:३९

पाँचपोखरी थाङ्पाल गाउँपालिका–६, टार
कात्तिक ३०, २०८२

थाङपालधाप साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा सहकारीको वर्तमान अवस्था, आर्थिक सञ्चालन तथा आगामी योजनाबारे विस्तृत चर्चा गरिएको थियो।

सम्बोधन गर्दै अध्यक्ष लामाले सहकारी किसानहरुको बैंक भएकाले यसको भूमिका विशेष र महत्वपूर्ण रहने उल्लेख गर्नु भयो। सदस्य वृद्धि, क्षमता विकास, मुल्य–मान्यता र विधि अनुसार सहकारी चलाउनु आजको आवश्यकता भएको बताउँदै उहाँले सहकारीलाई अनुशासित एवं पारदर्शी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो।

अध्यक्ष लामाले देशभर ठूला सहकारीहरू विधि–नियम पालना नगरेकै कारण समस्यामा परेको उदाहरण दिँदै थाङपालधाप सहकारीलाई व्यवसायिकता र सदस्य हितअनुसार अघि बढाउन सुझाव दिनुभयो। गाउँपालिकाले किसानका उत्पादनको संकलन तथा ढुवानीमा सहजीकरण गर्ने बताउँदै उहाँले किसानहरूलाई व्यवसायिक बन्न प्रेरित गरे।

कार्यक्रममा सल्लाहकार समितिका संयोजक माधव पाण्डेले सहकारीमा लगानी गरेपछि यसको गतिविधि, लगानी क्षेत्र तथा संचालनमा सदस्य स्वयं सक्रिय र जिज्ञासु बन्नुपर्नेमा जोड दिनुभयो। सहकारी देशको तीन खम्बे अर्थनीतिको महत्वपूर्ण आधार भएकाले समुदायमा आधारित कार्यक्रम सञ्चालनमा सहकारीको भूमिका मजबुत हुनुपर्ने बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले महिलाहरूलाई ऋण नपत्याउने विगतको सामाजिक धारणालाई सहकारीले तोड्दै आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान दिएको बताइन्। उनले सेवा प्रवाहलाई अझ प्रभावकारी र व्यवसायमुखी बनाउन आग्रह गरिन्।

सहकारीका पूर्व अध्यक्ष शिशिर वाइबाले सहकारी धेरै संघर्षपछि आजको अवस्थामा पुगेको बताउँदै सदस्यले व्यवसायिक योजना ल्याएमा सहकारीले सहयोग गर्न तयार रहने जानकारी दिए। सकारात्मक दृष्टिकोण र सीप विकासका लागि संस्थालाई सुझाव दिन पनि उहाँले अनुरोध गरे।

जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारीबाट ऋण लिएर आत्मविश्वासका साथ लगानी गर्न सकिने बताउँदै समतामूलक समाज निर्माणमा सहकारी महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले सदस्यले आफ्नो बचत, लगानी र लाभांशप्रति सधैं चासो राख्नुपर्ने सुझाव दिए।

साधारणसभामा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई र सहकारी शाखाका प्रमुख धूर्व लामिछानेले सहकारीको संख्याभन्दा पनि सेवा गुणस्तर बढाउनु प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा असल ऋणी, असल बचतकर्ता, बाल बचतकर्तासहित विभिन्न श्रेणीका सदस्यलाई सम्मान गरिएको थियो। साथै कलाकार हरि थापा र गीता तामाङले सांस्कृतिक प्रस्तुति दिएका थिए।

सहकारीका आगामी कार्यक्रम सहकारी अध्यक्ष बाबुराम पौडेलले सार्वजनिक गर्नुभयो भने आर्थिक प्रतिवेदन प्रबन्धक प्रतिज्ञा पौडेलले प्रस्तुत गर्नुभयो। सहकारीका ७२८ शेयर सदस्य रहेकोमा नगद मौज्दात २ लाख ५ हजार, बैंक मौज्दात १ करोड ३६ लाख, शेयर लगानी ७ लाख १४ हजार र कुल ऋण लगानी ५ करोड १७ लाख रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ। सहकारीको सन्तुलित परीक्षण कारोबार ६ करोड ९७ लाख ७३ हजार रहेको छ।

अध्यक्ष पौडेलका अनुसार सहकारीले आगामी दिनमा सदस्यहरूको व्यवसायिक योजना निर्माणमा सहयोग गर्दै व्यावसायिक बनाउने लक्ष्य अघि सारेको छ।