९ कार्तिक २०८२, शनिबार ११:३४
नेकपा (एमाले) ले त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ।
शनिबारदेखि त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन गर्न थालिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार चमेना गृहको अगाडिपट्टिको भागमा अहिले त्रिपाल टाँगिएको छ। त्यहीँबाट केन्द्रीय कार्यालयको नियमित काम र नेता–कार्यकर्ता भेटघाट र जनसम्पर्कको काम हुने रिजालले बताए।
‘हामीले त्रिपाल टाँगेर कार्यालय सुरू गरेका छौं। जलाइएको चमेना गृह पनि आइतबारदेखि सञ्चालनमा आउँदैछ। चमेना गृहको झ्याल मगाइसकिएको छ। ढोका तयार छ,’ उनले भने।
गत भदौ २४ गते च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानसँग भाडामा लिएको भवन आन्दोलनकारीले जलाइदिएपछि एमाले कार्यालयविहीन थियो।
अहिले अस्थायी प्रबन्ध हुने गरी सञ्चालन गरिएको रिजालले बताए।
