१७ साउन, काठमाडौं ।
पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले सरकारमाथि विदेशी सेना नेपालमा प्रवेश गर्ने बाटो खोल्ने काम गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले सरकारले हालै पारित गरेको कानुनमार्फत विदेशीलाई नेपाली नदी तथा नालाबाट विद्युत् उत्पादन गर्न दिने व्यवस्था गरेको बताए। उनले सो कानुनमा सो परियोजनाहरूको सुरक्षा नेपाल सरकारले आफैं गर्ने उल्लेख रहेको भन्दै यसले विदेशी सेनालाई नेपाल छिर्ने आधार बनाउने खतरा रहेको जिकिर गरे।

“यो कानुनले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि आघात पुर्‍याउने खतरा देखिन्छ,” रावलले भने, “सरकार विदेशी शक्तिका अगाडि झुकेको छ।”

उनले राष्ट्रिय हितको रक्षा गर्न जनतालाई सतर्क रहन आग्रह गर्दै संसद्मा विरोध गर्ने चेतावनीसमेत दिए।