x

डडुवामा गोलभेडा तथा विभिन्न अचार उत्पादन तालिम सुरु, विपन्न परिवार लक्षित कार्यक्रम

६ मंसिर २०८२, शुक्रबार १३:०८

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी–१४, डडुवा ।
स्थानीय कृषक तथा माझी समुदायलाई लक्षित गरी डडुवामा गोलभेडा सहित विभिन्न प्रकारका अचार उत्पादन तालिम सुरु गरिएको छ। बागमती प्रदेश सरकारको सशर्त अनुदान तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योती कृषि सहकारी संस्थाले आय–आर्जन कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो।

तालिमको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा तथा नगरपालिका लेखा समितिका संयोजक एवं वडा नं. १४ का वडाध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यमा सम्पन्न भयो।

स्थानीय उत्पादनको ब्रान्डिङ र बजार विस्तार लक्ष्य

नेत्रज्योती कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्रबहादुर बस्नेतका अनुसार गाउँमै उत्पादन हुने गोलभेडा, लप्सी, काउली, अमला, स्कुसलगायतका सामग्री प्रयोग गरी बजार योग्य अचार उत्पादन गर्ने उद्देश्यका साथ तालिम सुरु गरिएको हो। स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै बजार विस्तार गर्ने योजनासमेत प्रस्तुत गरिएको छ।

नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले स्थानीय उद्यमी तथा कृषकलाई प्राविधिक र आर्थिक सहयोग गर्ने नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले सरकारको सहयोग प्रभावकारी रूपमा प्रयोग गरी गाउँमै उत्पादन हुने सामग्रीलाई मूल्यवर्धन गर्नुपर्नेमा जोड दिए।

विशेष आतिथ्य वडाध्यक्ष उद्धव नेपालले गाउँमै प्रशोधनमार्फत व्यावसायिक उत्पादन बजारसम्म पुर्‍याउने उद्देश्यअनुरूप सहकारीले सुरु गरेको तालिम निर्णायक हुने अपेक्षा व्यक्त गरे।

स्थानीय संस्थाका प्रतिनिधिको प्रशंसा

जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा डडुवा भवानीशंकर माध्यमिक विद्यालयका प्रअ बद्री प्रसाद नेपालले सहकारीको प्रयास किसानलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्ने बताए।
कृषक समूहका मोहन बस्नेत ‘सम्भु’ ले सहकारीले नयाँ कार्य आरम्भ गरी कृषकलाई आय–आर्जनमा सहजता पुर्‍याएकोमा धन्यवाद दिए।

तालिम सहभागी अन्जु माझीले माझी समुदायका लागि यस्तो कार्यक्रम पहिलोपटक आएको उल्लेख गर्दै, सिकेको सीपले रोजगारी र जीवनस्तर सुधारमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

तकनीकी प्रशिक्षण र आगामी योजना

नगरपालिका उद्यमी विकास शाखाका सहजकर्ता अर्जुन गतराजले अचार बनाउने तरिका, गुणस्तर नियन्त्रण, स्वच्छता, सुरक्षित संरक्षण र बजारिकरणसम्बन्धी विस्तृत प्राविधिक सीप प्रदान गरे।

सहकारीकी कोषाध्यक्ष सीता बानीयनका अनुसार सहकारीले आगामी वर्षदेखि गोलभेडाको स्थानीय प्रशोधन उद्योगलाई थप संस्थागत रूपमा विस्तार गर्ने योजना बनाएको छ।

कार्यक्रम सम्पन्न

कार्यक्रम नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालको सभापतित्वमा सम्पन्न भयो। उद्घाटन समारोह वडा कार्यालयको प्राङ्गणमा भएको थियो। कार्यक्रममा बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाका अध्यक्ष चतुरबहादुर तामाङ, स्थानीय प्रतिनिधि तथा माझी समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।