काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की सरकार विस्तारका लागि परामर्शमा व्यस्त हुनुभएको छ । जेन–जीले सरकारमा सहभागी हुने प्रतिनिधिहरूको नाम बुझाएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम छलफल तिब्र पार्नुभएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि घटस्थापनाका दिन नयाँ मन्त्रीहरूले सपथ ग्रहण गर्ने तयारी भइरहेको छ । जेन–जीले पठाएका नामसहित बाँकी मन्त्रीहरूको नाम लगभग टुंगिएको भए पनि एक–दुई पदमा अझै निर्णय हुन बाँकी रहेको र अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने जनाइएको छ ।
सरकारलाई समावेशी र जेन–जीको प्रतिनिधिमूलक बनाउनुपर्ने प्रयासका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भए पनि भोलिसम्म सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो । विभिन्न पेशा, व्यवसायसँग आबद्ध व्यक्तिहरूसँग प्रधानमन्त्रीले निरन्तर छलफल गरे पनि जेन–जीका प्रतिनिधिसँग सहमति जुट्न ढिलाइ भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन नसकेको बताइएको छ ।
