२८ कार्तिक २०८२, बिहीबार १५:३०
जुरिस्डिक्शनल रेडप्लस उत्सर्जन न्यूनीकरण कार्यक्रमसम्बन्धी पालिका स्तरीय एक दिने सचेतना तथा अन्तरक्रिया गोष्ठी बिहीबार चौतारामा सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को आयोजनामा भएको उक्त गोष्ठीमा जलवायु परिवर्तन, वन विनाश र क्षयीकरणका कारणहरू, रेडप्लस (REDD+) कार्यक्रम, तथा लिफ (LEAF) कार्यक्रमअन्तर्गत लाभ वितरण प्रक्रिया जस्ता विषयहरूमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा नेफिनका प्रमुख, आदिवासी जनजाति व्यक्तित्वहरू, सञ्चारकर्मी, युवा वर्ग र विभिन्न दलका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा नेपाल आदिवासी जनजातिको केन्द्रीय प्रतिनिधिले प्रशिक्षण दिनुहुँदा बन्दना पहरी र सीता स्याङतानले सहजीकरण गर्नुभएको थियो।
गोष्ठीमा जलवायु परिवर्तनका प्रमुख कारकहरू — वन विनाश, आगलागी, कृषि तथा पशुपालन, सहरीकरण, यातायात, औद्योगिकीकरण र फोहोरमैला व्यवस्थापन — सम्बन्धी सचेतनामूलक प्रस्तुति गरिएको थियो। त्यस्तै, रेडप्लस कार्यक्रमको उद्देश्य वन विनाश र वन क्षयीकरण रोक्ने रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि ती कारक तत्वहरूलाई सम्बोधन गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा लिफ कार्यक्रमअन्तर्गत लाभ वितरणको प्रस्तावित प्रक्रियाबारे पनि छलफल गरिएको थियो। सो अनुसार, रेड कार्यान्वयन केन्द्रले संघीय सशर्त अनुदानका आधारमा योजना तयार गर्ने, वन विकास कोषले वातावरण मन्त्रालयमार्फत बजेट प्रस्ताव गर्ने र डिभिजन वन कार्यालयले लाभार्थी वन समूहहरूको खातामा रकम सिधै पठाउने व्यवस्था रहनेछ।
सहभागीहरूले वन संरक्षणमा सरकारी निकाय, आदिवासी जनजाति र सामुदायिक वन उपभोक्ता समूहहरूका भूमिकाबारे विचार आदान–प्रदान गरेका थिए। सबै सरोकारवालाको सहकार्यमा जलवायु परिवर्तन न्यूनीकरण र वन संरक्षणका प्रयासलाई अझ सशक्त बनाउने निष्कर्षसहित गोष्ठी सम्पन्न भएको जनाइएको छ।

