२९ माघ २०८०, सोमबार १४:१२
काठमाडौ । नेपालमा २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेका छन् । सहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार राजधानीमा सावजनिक गरेको नेपाल जीवनस्तर सर्बेक्षण चौथो २०७८/८० अनुसार सहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाइ गरिब भनिएको छ ।
तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीका अनुसार १२ बर्ष अगाडिको तथ्यांकमा नयाँ सिमा तोकेर नया तथ्यांक सार्वजनिक गरिएको हो ।
काठमाडौमा ७ प्रतिशत र सुदुर पश्चिममा ४० प्रतिशत नेपाली गरिब रहेको देखिएको छ ।
उनका अनुसार गरिबीको रेखा निर्धारण गर्दा उपभोग्य वस्तुमा हुने खर्चका आधारमा गरिबीको रेखा निर्धारण गरिएको हो ।
एक दशकअघि नेपालमा २५.२ प्रतिशत नेपाली गरिबीको रेखा मुनि थिए ।
तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । जस अनुसार २०.२७ भनेको करिब ६० लाख जनसंख्या हुन आउँछ ।
सबैभन्दा बढी सुदूरपश्चिममा
नेपालमा सबैभन्दा बढी सुदूरपश्चिममा गरिबीको दर रहेको पाइएको छ ।चौथो जीवनस्तर सर्वेक्षणका अनुसार सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत रहेको पाइएको छ । यसपछि गरिबीको दर कर्णालीमा पाइएको छ ।
कर्णालीमा २६.६९ प्रतिशत गरिवीको दर पाइएको हो । सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत गरिबीको दर भेटिएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, वागमतीमा १२.५९, मधेशमा २२.५३ र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर छ ।