x

चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: न्यायिक समितिद्वारा सचेतना सडक नाटक

१६ मंसिर २०८२, सोमबार १४:५०

सिन्धुपाल्चोक । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले न्यायिक समितिको भूमिका, अधिकार र काम–कर्तव्यबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन सुरु गरेको छ।

नगरपालिकाका विभिन्न स्थानमा आयोजना भइरहेका कार्यक्रमअन्तर्गत आज बतासे, कुविण्डे र मेलचोैर क्षेत्रमा सडक नाटक प्रस्तुत गरिएको न्यायीक सहजकर्ता करिष्मा सापकोटाले जानकारी दिइन्। उनका अनुसार नाटकमार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा, सामाजिक विवाद, उजुरी प्रक्रिया, स्थानीय तहको मध्यस्थता भूमिका र पीडितको पहुँच जस्ता विषयलाई सरल र बोधगम्य भाषामा प्रस्तुत गरिएको छ।

कार्यक्रममा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ। स्थानीयहरूले नाटकलाई ध्यानपूर्वक हेरेका र यसले न्यायिक प्रक्रिया बुझ्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सीता थापाले समुदायमा अझै पनि न्यायिक समितिको भूमिका बारे सीमित जानकारी रहेको बताउँदै यस्ता चेतनामूलक नाटकहरूले जनस्तरमा प्रभावकारी रूपमा सूचना प्रवाह गर्ने अपेक्षा व्यक्त गरिन्।

त्यस्तै, न्यायिक समिति सदस्य रामशरण अधिकारीले सूचना प्रवाहका अन्य माध्यमभन्दा नाटकीय प्रस्तुति बढी प्रभावकारी हुने बताए। उनले तीन वर्षदेखि सडक नाटकमार्फत चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस वर्ष विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रम राखिएकाले प्रभाव अझ बढ्ने विश्वास व्यक्त गरे।

सडक नाटक ‘आवाज आर्ट क्रिएशन प्रा.लि.’ ले प्रदर्शन गरिरहेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमले लैङ्गिक हिंसा रोकथाम, पीडितमैत्री न्यायिक प्रक्रिया र सामाजिक सद्भाव प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ।