उदयपुर, २०८२ जेठ २८ – चौदण्डीगढी नगरपालिका, उदयपुरको सहयोगमा ईन्द्रावती संचार प्रा.लि.को आयोजनामा चार दिने “विकास पत्रकारिता तालिम तथा अभिमुखिकरण” कार्यक्रम आइतबारदेखि सुरु गरिएको छ।

नगर सभाहलमा सम्पन्न उद्घाटन समारोहमा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता रहेको थियो। साथै, कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरू, पत्रकार महासंघका प्रतिनिधिहरू, तथा नगरका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम उद्घाटन गर्दै मेयर कालुमान लामाले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता तालिमहरूले पत्रकारहरूको सीप विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले विकास पत्रकारिता मार्फत जनस्तरसम्म सूचना पुर्‍याउने कार्य अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता पनि औँल्याए।

चार दिनसम्म सञ्चालन हुने तालिममा समाचार लेखन, अनुसन्धान पत्रकारिता, फोटो पत्रकारिता, र विकास पत्रकारिता सम्बन्धी विभिन्न सत्रहरू समावेश गरिने आयोजक संस्था इन्दावती सञ्चारले जानकारी दिएको छ।

कार्यक्रमले पत्रकारहरूलाई व्यावसायिक र नैतिक पत्रकारिता अभ्यास गर्न थप उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।