काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनि गरिएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ ।
विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । चलचित्रको कथा र पटकथा पनि स्वयं लम्सालले नै तयार पारेका हुन् । संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतुहलता र चासो रहने भएको छ ।
चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।