x

गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

१० कार्तिक २०८२, आईतवार ०९:२६

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनी घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ।

अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट निवेदन हाल अध्ययनको क्रममा रहेको छ।

रिटमा आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुमा तटस्थ नरहेको आरोप लगाइएको छ। साथै, सदस्य भण्डारीले पनि त्यसबारे प्रश्न उठाउन नसकेको दाबी गरिएको छ।

जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे सत्य तथ्य पत्ता लगाउन सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघीय नियोगमा काम गरिसकेका अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।