२७ कार्तिक २०८२, बुधबार ०२:०६
गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवा सूचकमा काठमाडौं जिल्लामै पहिलो
काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा गोकर्णेश्वर नगरपालिका काठमाडौं जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम भएको छ ।
नगरपालिकाभित्र रहेका गोकर्णेश्वर नगर अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र समुदायस्तरका कार्यक्रमहरू मार्फत प्रदान गरिएको सेवा, सुविधाको पहुँच र व्यवस्थापनलाई आधार बनाउँदै मूल्यांकन गरिएको जनाइएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार मातृ–शिशु स्वास्थ्य, नियमित खोप सेवा, रोग प्रतिरोधात्मक कार्यक्रम, जनचेतना विस्तार, एम्बुलेन्स सेवा, स्वास्थ्य पूर्वाधार तथा प्रशासनिक संयोजनमा गोकर्णेश्वर नगरपालिका अन्य पालिकाभन्दा प्रभावकारी देखिएको हो।
गोकर्णेश्वर नगर अस्पतालले पछिल्ला वर्षमा सेवा दायरा विस्तार गर्दै आएका छन्। अस्पतालमार्फत प्रदान भइरहेका आपतकालीन सेवा, प्रसूति सेवा, स्वास्थ्य परीक्षण, लैब सेवा लगायतका सुविधाले नगरवासीलाई नजिकमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
नगरवासीलाई सरोकार राख्ने स्वास्थ्य सेवामा सुधार र उपलब्धतामा निरन्तरता दिनुपर्नेमा पनि स्थानीय बासिन्दाले जोड दिएका छन्।
