सिन्धुपाल्चोक, मेलम्ची — मेलम्ची नगरपालिका–अन्तर्गत गुफाडाँडा द्वारेटोलमा निर्माण सम्पन्न भएको सामुदायिक भवनको उद्घाटन तथा पूजा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य तथा वडा अध्यक्ष किरणदिप खड्काको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
नगरपालिकाबाट विनियोजित ७९ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले भवनलाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो। उहाँले केही काम बाँकी रहेकाले ती काम तत्काल सम्पन्न भएपछि मात्रै भुक्तानी गरिने स्पष्ट पार्नुभयो। साथै, भवनको घेराबार र संरक्षणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले सामुदायिक भवनले समुदायमा आवश्यक विविध कार्यक्रम तथा गतिविधि सञ्चालन गर्न सहज हुने बताउनुभयो। उहाँले समुदायसँग समन्वय गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्दै भवन बनेसँगै यसको संरक्षणको दायित्व समुदायको भएकोले केही रकम अक्षयकोषको रूपमा राख्न सुझाव दिनुभयो। गुफाडाँडा पर्यटकीय स्थल भएकाले यस क्षेत्रलाई पर्यटनको हबका रूपमा विकास गर्न नगरपालिकाले पहल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।
गुफाडाँडा द्वारेटोल सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष निशान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा समाजसेवी विनोद कार्की, वडा सदस्य पूर्णबहादुर तामाङ, समाजसेवी शेरपदोर्जे पाख्रीनलगायत स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन स्थानीय सचिव पाख्रीनले गर्नुभएको थियो।

