
१२ चैत्र २०८१, बुधबार १०:२१
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेपछि असन्तुष्ट युवाहरूले प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच केहीबेर भनाभनसमेत भएको छ।
प्रदर्शनमा सहभागी युवाहरूले घिसिङको पुनर्बहालीको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले घिसिङको नेतृत्वमा देशलाई लोडसेडिङमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई हटाउनु अन्यायपूर्ण रहेको बताएका छन्।
तर, प्रदर्शन चर्किन नदिन प्रहरीले हस्तक्षेप गरेको थियो। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई प्राधिकरण परिसरबाट हटाएको छ। प्रहरीले शान्ति सुरक्षाका कारण देखाउँदै धरपकड गरिएको दाबी गरेको छ।
यस विषयमा सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। कुलमान घिसिङलाई हटाउने निर्णयप्रति सामाजिक सञ्जालमा पनि व्यापक असन्तुष्टि देखिएको छ।

