
२१ फाल्गुन २०८१, बुधबार ०७:२७
‘बाह्रबिसे, फागुन १९ – बाह्रबिसे नगरपालिका र जर्मन नेपाल सहयोग संघको संयुक्त आयोजनामा सम्पन्न शैक्षिक मेला मा कालिदेवी आधारभूत विद्यालय, श्यामसाधु, बाह्रबिसे–७ का विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका छन्।
विद्यालयमा सञ्चालन भइरहेको एकीकृत विद्यालय शिक्षा परियोजना कार्यक्रम अन्तर्गत बालमैत्री शिक्षण सिकाइ प्रविधिहरू विद्यार्थीले अवलोकन गर्न र सिक्न पाएका थिए। कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले २३ वटा स्टलमार्फत आफ्ना सिकाइ उपलब्धिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन बहादुर श्रेष्ठको अध्यक्षता, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता तथा उप–प्रमुख मञ्जु तामाङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, पूर्व प्रधानाध्यापक श्यामकृष्ण नेपाल, सम्पूर्ण अभिभावक, विद्यालय सरोकारवालालगायत करिब २०० जनाको सहभागिता रहेको थियो।
शैक्षिक मेलालाई थप रोचक बनाउन आमा समूह र अभिभावकहरूबीच म्युजिकल चियर, घ्याम्पो फुटाउने खेल, स्थानीय खाद्य उत्पादन प्रदर्शनी लगायतका गतिविधिहरू समावेश गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी हौसला प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक शान्ता पौडेलले यस्ता कार्यक्रमहरू विद्यार्थीको बौद्धिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। शैक्षिक मेलाले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

