काठमाडौं, जेठ १८ — कागेश्वरी मनोहरा नगरपालिका–५ मा शनिबार ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। थलीस्थित नगरपालिकाको भवन परिसरमा आयोजित उक्त शिविरमा २६० जना ज्येष्ठ नागरिकले विभिन्न विशेषज्ञ सेवा प्राप्त गरेका छन्।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच र चस्मा वितरण, मुटु रोग परीक्षण, हाडजोर्नी सेवा, फिजियोथेरापी, मनोपरामर्श, भिडियो एक्सरे, रक्तअल्पता परीक्षण, दन्त रोग सेवा, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य बीमा सम्बन्धी परामर्श समेत प्रदान गरिएको थियो।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, शिविरमा:
- २४० जनाले ओपिडी सेवा,
- ११६ जनाले दन्त परीक्षण,
- १७३ जनाले आँखाको जाँच,
- ५१ जनालाई चस्मा वितरण,
- ६८ जनाले ओर्थोपेडिक ओपिडी,
- ३८ जनाले इको,
- ५१ जनाले ईसीजी,
- २६ जनाले भिडियो एक्सरे,
- ९ जनाले मनोपरामर्श सेवा प्राप्त गरेका थिए।
शिविरमा ३६ जनामा मोतिबिन्दुको समस्या देखिएपछि शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले निष्कर्ष निकालेका छन्।
शिविरमा मुटुरोग विशेषज्ञ डा. रोशन कुमार झालगायतको टोलीले सेवा दिएको थियो। बिरामीको निःशुल्क जाँचसँगै औषधि वितरण पनि गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकको हितका लागि पालिकाले विशेष ध्यान दिएको बताए। उनले भने, “ज्येष्ठ नागरिकप्रतिको सम्मानस्वरूप यो कार्यक्रम सञ्चालन गरिएको हो।” प्रमुख कार्कीले स्वास्थ्य सेवा प्रदान गर्ने सम्पूर्ण चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गर्दै शिविरको निरीक्षणसमेत गरेका थिए।
शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूले विशेषज्ञ सेवा आफ्नै वडामा पाउँदा खुशी व्यक्त गरेका थिए ।


