२ मंसिर २०८२, सोमबार ०६:५७
पाँचपोखरी थाङपाल । २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ को अवसरमा न्यू अरनिको रिसोर्ट प्रा.लि.मा भव्य कार्यक्रम आयोजना गरिएको छ । कफी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा किसान, सामाजिक अगुवा, व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कफी खेतीले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना दिएका थिए। उनले विश्व बजारमा कफीको निरन्तर बढ्दै गएको मागको उल्लेख गर्दै नेपालमा पनि यसको उत्पादन र बजार विस्तारको पर्याप्त सम्भावना रहेको बताए। विशेष गरी पहाडी जिल्लाहरू कफी उत्पादनका लागि उपयुक्त भएकाले किसानलाई प्रविधि, तालिम र बजार पहुँचका माध्यमबाट कफी खेतीतर्फ आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागीहरूले कफी खेतीलाई दिगो आयस्रोतका रूपमा विकास गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अझ प्रभावकारी हुनुपर्ने धारणा राखे। कफीको गुणस्तर, रोस्टिङ प्रक्रिया, स्वाद पहिचान तथा सही उत्पादन प्रविधिबारे विस्तृत डेमोन्स्ट्रेसन समेत प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूको ठूलो चासो पाएको आयोजकले जनाएको छ।
सोही अवसरमा अरनिको रिसोर्टका सञ्चालक दिपेन्द्र घलेले कफी खेतीका सम्भावनाबारे बोल्दै भने, “हाम्रो क्षेत्र कफी उत्पादनका लागि निकै सम्भावनायुक्त छ । किसानलाई प्रविधि, तालिम र बजार सुनिश्चितता प्रदान गर्न सके कफीले यहाँको आर्थिक रूपान्तरणमा ठूलो योगदान दिन्छ।” उनले नेपालमा गुणस्तरीय कफीको माग बढ्दो क्रममा भए पनि प्रविधिगत सीप, आधुनिक प्रशोधन संयन्त्र र ज्ञान अभावका कारण मागअनुसार उत्पादन विस्तार गर्न नसकिएको बताए।
कार्यक्रमको आयोजना अरनिको एग्रो फर्मले गरेको हो। कफी उत्पादन, प्रशोधन, बजार विस्तार तथा कफी संस्कृतिको विकासबारे केन्द्रित छलफलसहित सम्पन्न उक्त कार्यक्रम किसान तथा स्थानीय समुदायका लागि अत्यन्त उपयोगी बनेको आयोजक पक्षले बताएको छ।


