काठमाडौं । अध्ययनशील समाज निर्माण र वैचारिक रूपान्तरणलाई सघाउने उद्देश्यसहित नेकपा (एमाले) स्कुल विभागले ‘रूपान्तरणका लागि पठन संस्कृति — अध्ययन र अनुभूति’ शीर्षकमा विशेष कार्यक्रम मंगलबार पार्टी कार्यालय, च्यासलमा सम्पन्न भएको छ।
पठन श्रृंखलाअन्तर्गत समकालीन पठन सामग्रीहरूमध्ये प्रसिद्ध इतिहासकार युवल नोह हरारीद्वारा लिखित पुस्तक ‘नेक्सस’माथि र उनले उठाएका प्रश्नहरुमा केन्द्रित छलफल गरिएको थियो।
स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले पुस्तकको परिचर्चा गर्दै मानव जातिको सञ्चार क्षमता कसरी विकसित हुँदै आएको र भविष्यमा यसको यात्रा कुन दिशातर्फ उन्मुख छ भन्ने विषय पुस्तकमा समेटिएको जानकारी दिनुभयो।
उहाँले पुस्तकमा प्रस्तुत भ्रमपूर्ण वा सत्य सूचना कसरी सूचनाजालमार्फत प्रवाह गरिन्छन् भन्ने दृष्टान्तहरू सान्दर्भिक रहेको उल्लेख गर्नुभयो। सञ्चार प्रविधिको तीव्र विकाससँगै मानव समाजमा सूचनात्मक शक्तिको प्रयोग, दुरुपयोग वा विकृति हुनसक्ने विषयमा समेत ज्ञवालीले चर्चा गर्नुभयो।
तथ्यसिद्ध, विवेकपूर्ण र आलोचनात्मक अध्ययन संस्कारको विकास अनिवार्य रहेकोमा उहाँले जोड दिनुभयो।
स्कुल विभागले यस्ता अध्ययनमूलक कार्यक्रमहरूलाई नियमित बनाउँदै अध्ययनशील नेतृत्व निर्माणमा टेवा पुर्याउने उद्देश्यका साथ अघि बढिरहेको स्कुल विभागका सचिव घनश्याम कोइरालाले जानकारी दिनुभयो। उहाँले स्कुल विभागले अब पठन श्रृंखलाअन्तर्गत प्रत्येक महिना एउटा पुस्तकमाथि परिचर्चा गर्ने बताउनुभयो ।