१९ भाद्र २०८१, बुधबार १४:२५
काठमाडौं, १९ भदौ । नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र महासचिव शंकर पोखरेलले सञ्चालन गरेको दुई दिने बैठकले १४ बुंदे समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकले अहिले वामपन्थीको नाममा कसैसँग पनि मोर्चा भन्ने सम्भावना नरहेको निश्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा वामपन्थीको नाममा कुनै किसिमका मोर्चा बन्छन् कि भन्ने कोणबाट छलफल भएको थियो । ‘हामीले अन्तिम निश्कर्षमा अहिले वामपन्थीको नाममा कुनै मोर्चा हुने बन्ने कुनै सम्भावना छैन, त्यो दिशातर्फ हामीले फर्केर हेरेका छैनौं,’– ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने ।साथै, ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण न्यूनीकरण गर्न चाहेको पनि सुनाए । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दैै गौतमले भने, ‘अहिले भ्रष्टाचारको सन्दर्भमा जतिपनि मुद्दाहरु उठिरहेका छन्, त्यसमा भ्रष्टाचारको न्यूनीकरण र नियन्त्रण गर्न चाहन्छौं । पार्टी र सरकारले कुनै पनि खालका भ्रष्टाचारहरुलाई सहदैन । त्यसलाई नियन्त्रण र न्यूनीकरण गर्नका निमित्त हामीले आवश्यक नीति निर्माण गर्न भनिएको छ ।’
त्यस्तै, एमालेले आगामी निर्वाचन आफ्नै नीति तथा कार्यक्रमको आधारमा लड्ने र कसैको वैशाखी नटेक्ने निर्णय गरेको पनि प्रचार विभाग प्रमुख गौतमले बताए । ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको भएर एमालेले पनि भनेको हो भन्ने प्रसंगमा पनि त्यहाँ निकै कुरा उठ्यो । त्यसमा एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि गठबन्धनसँग चुनाव लडेको हो । आज पनि हामी एक्लै चुनाव लड्छौं, कसैको वैशाखी टेक्दैनौं, जनतामा आधारित भएर हामी अगाडि बढ्छौं भन्ने कुरा उठेको छ,’– उनले भने ।