नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले एमाले नेतृत्वको सरकारले भ्रष्टाचारमा कसैलाई उन्मुक्ति नदिने स्पष्ट पार्नुभएको छ। उहाँले भ्रष्टाचार प्रमाणित भए दोषीलाई नछाडिने र निर्दोषलाई फस्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट निर्वाचित निलम्बित सांसद मोहनबहादुर बस्नेत लगायत विशेष अदालतमा मुद्दा परेका व्यक्तिहरूलाई संकेत गर्दै उहाँले भ्रष्टाचारमा संलग्न कसैलाई पनि कानूनी कठघरामा ल्याउने बताउनुभयो।

सिन्धुपाल्चोक–काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनलाई सान ब्याङ्केट, काण्डाघारीमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतालाई समर्थन जनाउनुभयो। उहाँले अख्तियारलाई दोषी उम्कन नदिन र निर्दोष नफसाउन सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, सम्पर्क मञ्च नेतृ बिनिता सुवेदी, सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष द्वारिका प्याकुरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सम्पर्क मञ्चका सचिव रमेश तिमल्सिनाले जानकारी दिनुभयो।