काठमाडौं । मन्त्रिपरिषद्ले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी चन्द्रकुबेर खापुङलाई संगठनको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । खापुङले भदौ १९ गते गृहमन्त्री सचिवबाट आईजीपीको पदभार ग्रहण गर्नेछन्।

५६ वर्षे उमेर हदका कारण एआईजी कृष्णहरि शर्मा आइतबारदेखि अवकाशमा गइसकेका छन् भने आईजीपी दीपक थापा, एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १९ गतेबाट अवकाश पाउँदैछन् । उनीहरूको अवकाशसँगै चार एआईजीको दरबन्दी रिक्त हुने भएपछि बढुवाका लागि नौ जना डीआईजी प्रतिस्पर्धामा रहेका छन्।

एआईजीका लागि प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर बिक, लुम्बिनीका राजेन्द्र भट्ट, मधेसका उमाप्रसाद चतुर्वेदी, कोसीका ईश्वर कार्की, वाग्मतीका अरूण पौडेल, गण्डकीका दिनेश आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय श्रेष्ठ, प्रहरी प्रधान कार्यालय प्रशासन विभागका सुशील सिंह राठौर र गोविन्द थपलिया रहेका छन्।

खापुङको बढुवासँगै सीआईबी प्रमुख र काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख पद रिक्त हुनेछन् । यसअघि आईजीपी बन्ने अधिकांश अधिकारीहरू सीआईबी प्रमुख वा उपत्यका प्रहरी प्रमुख भएरै माथिल्लो पदमा पुगेका उदाहरणहरू रहेकोले यसपटक पनि ती पोष्टिङलाई भावी आईजीपीका संकेतका रूपमा लिइएको छ।

स्रोतहरूका अनुसार सीआईबी प्रमुखमा डीआईजी राजन अधिकारी वा सिद्धीविक्रम शाह मध्ये एकजना पठाइने सम्भावना छ । गृहमन्त्री शाहको पक्षमा देखिएका छन् भने प्रधानमन्त्रीको रोजाइमा परे राजन अधिकारीको पनि नियुक्ति सम्भावना छ। तर बढुवा वरियतामा डीआईजी दानबहादुर कार्की पहिलो नम्बरमा रहेका छन्।