ईन्द्रावती गाउँपालिकामा भारतीय सहयोग अन्तर्गत चार करोड बराबरको स्वास्थ्य चौकी निर्माण हुने

१८ चैत्र २०८१, मंगलवार १५:५६

ईन्द्रावती गाउँपालिकाले भारतीय सहयोग अन्तर्गत चार करोड रुपैयाँ बराबरको भौतिक निर्माण सहयोग पाएको छ। पालिका अध्यक्ष झम्कनाथ नेपाल र भारतीय पक्षबीच यस सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यस सम्झौताअनुसार गाउँपालिकाको वडा नम्बर ३ र ६ मा दुईवटा स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ। नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच भएको सम्झौताका आधारमा परियोजनाहरू कार्यान्वयन गरिनेछ।

पालिकाले स्थानीय तहहरूबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गर्नेछ, जसलाई अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइनेछ। यो निरन्तर सहयोग हुने कार्यक्रम रहेको अध्यक्ष नेपालले जानकारी दिए।

पालिकाको निरन्तर पहल र दातृ निकायहरूको सहयोगका कारण यो महत्वपूर्ण उपलब्धि हासिल भएको अध्यक्ष नेपालले बताए। भारत सरकारले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत यो स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो, जसले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्नेछ।