इलेक्ट्रो हाइड्रोको वेवास्ताप्रति एमाले भोटेकोशीको ध्यानाकर्षण

२५ फाल्गुन २०८१, आईतवार १४:४६

भोटेकोशी, ९ मार्च – निर्माणाधीन ४० मेगावाट क्षमताको विद्युत् आयोजनाले स्थानीयलाई वेवास्ता गरेको आरोप लगाउँदै नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीले इलेक्ट्रोपावर विद्युत् आयोजनालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

आईतबार आयोजना कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष सुन्तलीमाया लामा श्रेष्ठको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो। ध्यानाकर्षण पत्रमा स्थानीयलाई रोजगार, निर्माण सामग्री ढुवानीमा प्राथमिकता, तथा प्रमोटर सेयरमा स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।

एमाले भोटेकोशीले प्राकृतिक स्रोतको उपयोगमा स्थानीय सहभागिता अनिवार्य हुनुपर्नेमा आयोजनाले वेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “स्थानीय माग वेवास्ता गरिनु दुखद छ। गैह्र-जिम्मेवार गतिविधिहरूप्रति गम्भीर खेद व्यक्त गर्दै प्रमोटर सेयर स्थानीयलाई उपलब्ध गराउन जोडदार माग गर्दछौं।”

यस विषयमा आयोजनाका प्रवन्ध निर्देशक मोहन विक्रम कार्कीले कुनै प्रतिक्रिया दिएका छैनन्। स्थानीयले पनि आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।