ज्यामिरेमाने
इन्द्रावती गाउँपालिका ८ मा निर्माण भएको गोले बोन्पो (गोले झाँक्री) को पूर्णकदको शालिक अनावरण तथा उद्घाटन सम्पन्न भएको छ । जनै पूर्णिमा रक्षा बन्धनको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल को प्रमुख अतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच आज शालिक अनावरण तथा उद्घाटन गरिएको हो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नेपालले इन्द्रावती गाउँपालिका विभिन्न जातजाति तथा धर्म संस्कृतिको संगम थलो भएको बताउँदै सबै जातजाति धर्म संस्कृतिलाई गाउँपालिकाले उत्तिकै सम्मानका साथ अघि बढाउने धारणा राख्नुभयो । साथै गोले बोन्पो (गोले झाँक्री) को शालिक अनावरण गर्दै उहाँले यस्ता संरचनाहरू गाउँपालिकाका विभिन्न स्थानमा बनेको र त्यसको संरक्षणमा गाउँपालिकाले मात्रै नभई स्थानीय समुदाय तथा समाजले पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गोली तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले गोले बोन्पो (गोले झाँक्री) को गौरवशाली शालिक उद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित महसुस भएको धारणा राख्नुभयो । गोले वंशको पहिचान र इतिहासको बारेमा बताउँदै अब हरेक वर्ष यही दिन यही स्थानको अवलोकनका लागि संसारभरिका गोलेहरू आउनेगरी संरचनाहरू तयार पार्न जरुरी रहेको बताउनुभयो । साथै गोले झाँक्रीको शालिक रहेको स्थानमा अन्य संरचनाहरू बनाउन बाँकी नै रहेकाले शालिकको वरिपरी रेलिङ र छत र लगाउनका लागि गोले तामाङ वंश उत्थान समाज ले १ लाख ४४ हजार रूपैयाँ बराबरको रकम सहयोग समेत गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष वंशलाल तामाङले समाजमा रहेका हरेक धर्म भाषा संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । साथै यस स्थानमा निर्माण भएको गोले झाँक्रीको शालिक अनावरणको अवसरमा आफूलाई निमन्त्रण गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्दै सबैमा जनै पूर्णिमा, रक्षाबन्धन तथा गोले ङ्ह्याको शुभकामना समेत व्यक्त गर्नुभयो ।
इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभाना तामाङले आफ्नो पहिचान झल्काउने काम सबैले गर्नुपर्ने बताउँदै यसले लक्षित जातजातिलाई मात्रै नभई गाउँपालिकालाई नै चिनाउन मद्दत पुग्ने धारणा राख्नुभयो । साथै यस स्थानको यो संरचना निर्माणबाट सबैले सिकेर अन्य वडाहरूमा पनि यस्ता विशेष संरचनाहरू पहिचान झल्काउने गरी बनाउन आवश्यक रहेको बताउनुभयो ।
गोले तामाङ वंश उत्थान समाजका उपाध्यक्ष हर्क गोलेले यस स्थानलाई संसारभरका गोलेहरू आएर गोले झाँक्रीको शालिकलाई दर्शन गर्न आउने गरी प्रचारप्रसार तथा संरचनाहरू बनाउन आवश्यक रहेको बताउनुभयो । साथै यस स्थानलाई गोलेवंश तथा तामाङहरूको तीर्थस्थलाको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । यसले आन्तरिक पर्यटनमा पनि टेवा पुग्ने उहाँको धारणा थियो ।
वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले वडा सदस्यहरूको सल्लाह बमोजिम यो संरचना बनेको र यसले यहाँका तामाङ समुदाय हरुलाई जोड्न सफल भएको बताउनुभयो । साथै यहाँ अन्य संरचनाहरू निर्माण गर्न बाँकी नै रहेको र पर्यटन विकासका लागि यसले सहयोग गर्ने बताउनुभयो । यस कुरामा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै सहयोगको अपेक्षा पनि गर्नुभयो ।
वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले तामाङको बाहुल्यता रहेको इन्द्रावतीमा तामाङको संस्कृति संरक्षण गर्न जरुरी बताउँदै इन्द्रावती ८ मा बनेको यो संरचना यसको एउटा प्रयास भएको उहाँको भनाइ छ । साथै यसरी बनेका संरचनाहरूको संरक्षण र संबर्धनमा स्थानीय तहसँगै समाजको र समुदायको पनि उत्तिकै भुमिका रहेको बताउनुभयो ।
वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खातीले देश धर्मनिरपेक्षता भएका कारण सबै भाषा धर्मले समान विकासको अवसर पाएको र यसको उपयोग गर्दै यहाँ गोले झाँक्रीको सालिक बनाउन सफल भएको धारणा राख्नुभयो ।
नेपाल तामाङ घेदुङका उपाध्यक्ष तथा गोले समाजका सीता गोलेले तामाङ भएर आफ्नो भाषा बोल्न नसक्नु तथा आफ्नो भाषा बोल्न लाज मान्नु दुखको कुरा रहेको बताउनुभयो । साथै भाषा आफ्नो पहिचान भएकोले यसलाई बोल्न सक्नुपर्ने र बोल्न हिच्किचाउन नहुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन कुमार थापामगरले यस स्थानमा अझ भौतिक संरचना थप गरि पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न जातजातिको श्रद्धाको भाव आभास गर्न पनि यस्ता संरचनाहरु निर्माण हुनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमाले गाउँपालिका कमिटीका उपाध्यक्ष प्रकाश मैनालीले यसरी बनेका संरचनाहरूको नेकपा एमालेले संरक्षणमा साथ दिने धारणा राख्नुभयो ।
नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कमिटी सचिव केदारनाथ आचार्यले पूर्व जनप्रतिनिधिहरूको कार्यकालमै सुरु भएको उक्त काम अहिले सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै आयोजक ज्यामिरे माने सिमबारी खर्क टोल विकास संस्थाका अध्यक्ष दयाराम तामाङले अझै संरचनाहरू बन्न बाँकी रहेकोले यसमा स्थानीय सरकार तथा अन्य निकायहरू बाट सहयोगको अपेक्षा गर्दै कार्यक्रममा उपस्थित हुनुभएका सबैमा आभार व्यक्त गर्नुभयो ।


