सिन्धुपाल्चोक, इन्द्रावती
इन्द्रावती गाउँपालिका वडा नं–५, उपल्लो गाउँमा निर्माण हुन लागेको सचाइ भवनको आज औपचारिक शिलान्यास गरिएको छ।

स्थानीय बासिन्दाहरूको १ लाख र इन्द्रावती गाउँपालिकाको ५ लाख रुपैयाँको बजेटमा निर्माण हुने सो भवनको शिलान्यास वडाध्यक्ष शशिनाथ आचार्यले गर्नुभयो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले, “स्थानीय सरकार सबै नागरिकको अभिभावक हो। सबै धर्म, जात, जाति र संस्कृतिका नागरिकहरूको इच्छाअनुसार काम हुनुपर्छ,” भन्दै सामाजिक समावेशिता र धार्मिक सहिष्णुताको आवश्यकता औंल्याउनुभयो।

भेदभाव तथा छुवाछूत उन्मूलन दिवसकै अवसरमा भवनको शिलान्यास हुनु खुशीको विषय भएको उहाँले बताउनुभयो। साथै, यस भवनको थालनीले सच्चाईमा आस्था राख्ने सम्प्रदायमा थप उत्साह र विश्वास जागेको विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष आचार्यले सच्चाई सम्प्रदायका सबै सदस्यहरूलाई बधाई दिँदै भवनमा सच्चाईसँगै अन्य सम्प्रदायका गतिविधि तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्न सकिने जानकारी पनि दिनुभयो।