रविन दनुवार
सिन्धुपाल्चोक, ३१ जेठ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा तीतेपातीको तेल उत्पादन सुरु गरिएको छ। गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम र स्थानीय नागरिकको लागत साझेदारीमा तीतेपाती प्रशोधन गरी तेल उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याइएको हो।
जनसुधार महिला सहकारी भवनको परिसरमा स्थापना गरिएको सो प्लान्ट गाउँपालिकाको आर्थिक सहायतासहित स्थानीयको सक्रिय सहभागितामा सञ्चालनमा आएको वडा नम्बर ५ का अध्यक्ष तथा पालिका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो।
“स्थानीय स्तरमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुका साथै नागरिकलाई उद्यमशील बनाउन पालिकाले यस्तो कार्यक्रम अघि सारेको हो,” उहाँले बताउनुभयो।
पछिल्लो केही महिनायता तीतेपाती प्रशोधन गरी तेल उत्पादन भइरहेको र सो तेल विभिन्न रोगसँग लड्न प्रतिरोधात्मक क्षमता भएको वैज्ञानिक तथ्यांकले देखाएको अध्यक्ष आचार्यको भनाइ छ।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय स्रोत साधनको सदुपयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न समेत पहल थालेको जनाएको छ।

