रबिन दनुवार
भदौ १८, सिन्धुपाल्चोक । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास परियोजना अन्तर्गत विश्व खाद्य कार्यक्रमको सहयोगमा इन्द्रावती गाउँपालिका–१२ मा कृषक पोषण पाठशाला सम्बन्धी आमभेला सम्पन्न भएको छ।
वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य रामहरि दनुवार प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा परियोजनाका सहजकर्ता सुजन सापकोटाले कृषक पोषण पाठशालाको उद्देश्य र औचित्यबारे प्रशिक्षण दिनुभएको थियो।
प्रमुख अतिथि रामहरि दनुवारले कृषक पोषण पाठशाला आफैंमा संवेदनशील रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले ‘सुनौलो हजार दिन’ अभियानअन्तर्गत आमा, बच्चा र परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने बताउनुभयो।
त्यसैगरी वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले वडामा कुपोषण बढ्दो रहेकाले यस्ता कार्यक्रमले रोकथाममा ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पोषण कार्यक्रमलाई वडामा अत्यन्तै आवश्यक रहेको बताउँदै प्रभावकारी ढंगले सञ्चालन गरी उद्देश्य पूरा गर्न निर्देशन समेत दिनुभयो।
कार्यक्रममा सुनौलो हजार दिनका ६० जना आमा लगायत सरोकारवालाको सक्रिय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।


