इन्द्रावती, सिन्धुपाल्चोक –
इन्द्रावती गाउँपालिकामा पछिल्ला दुई वर्षमा शिक्षा क्षेत्रमा ऐतिहासिक सुधार देखिएको छ। अध्यक्ष झम्क नेपालको नेतृत्वमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविद सुधारात्मक पहलहरू गर्दै आएको छ, जसको परिणामस्वरूप सिकाइ उपलब्धि 47% बाट बढेर 69.52% मा पुगेको हो।
झम्क नेपाल नेतृत्वको टीमले कार्यभार सम्हाल्दा गाउँपालिकाको औसत सिकाइ उपलब्धि मात्र 47% थियो। पाँच वर्षमा 70% पुर्याउने दीर्घकालीन लक्ष्य राखिए पनि हाल दुई वर्षकै अवधिमा 69.52% पुर्याउन सफल हुनु गाउँपालिकाको समर्पण र योजनाबद्ध कामको प्रमाण हो।
अध्यक्ष झम्क नेपाल भन्छन्:
“शिक्षा हाम्रो पहिलो प्राथमिकता हो। शिक्षकको नियमितता, अभिभावकको सहभागिता, विद्यार्थीको अनुशासन, र शैक्षिक अनुगमनमा हामीले जुन मेहनत गरेका छौं, त्यसको प्रतिफल अहिले देखिएको हो।”
गाउँपालिकाले निम्न सुधारात्मक कदमहरू अपनाएको छ:
विद्यालयहरूको नियमित अनुगमन
शिक्षक तालिम तथा मूल्यांकन
विद्यार्थीको उपस्थिति र सिकाइ परिणाममा आधारित अनुगमन प्रणाली
ICT प्रविधिमार्फत शिक्षण सिकाइमा सुधार
अभिभावक-विद्यालय साझेदारी कार्यक्रम
कमला देवी मा.वि., ऐसेलुखर्क मा.वि. लगायतका विद्यालयहरूले उदाहरणीय सुधार देखाएका छन्।
शिक्षा शाखाका अनुसार गाउँपालिकाभित्रका अधिकांश विद्यालयहरूमा विद्यार्थीको उपस्थिति दर समेत 70% भन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय हो।
स्थानीय अभिभावकहरू खुशी व्यक्त गर्छन्:
“पहिले पढाइ कस्तो थियो हामीलाई थाहा थिएन, अहिले शिक्षक आफैं जानकारी दिन्छन्। बच्चाको नतिजा पनि राम्रै आएको छ।”
शैक्षिक उपलब्धिको यो तीव्र सुधारले इन्द्रावती गाउँपालिकालाई प्रदेश तथा राष्ट्रमै उदाहरणीय बनाउन सक्ने विश्वास लिइएको छ।
