सिन्धुपाल्चोक – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार इन्द्रावती गाउँपालिकामा ६३ दशमलव ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरूबाट २६४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये १६८ जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार, दुई विद्यालयले ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्। तीमध्ये सबैभन्दा राम्रो नतिजा वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालयले हासिल गरेको छ। दोस्रो स्थानमा वडा नम्बर ५ स्थित ऐसेलुखर्क माध्यमिक विद्यालय रहेको छ।

तर, दुई विद्यालयको नतिजा ५० प्रतिशतभन्दा कम रहेको र एक विद्यालयको त नतिजा नै निल भएको (एक जना विद्यार्थी पनि उत्तीर्ण नभएको) जनाइएको छ।

यद्यपि बाँकी अन्य विद्यालयहरूमा ५० प्रतिशतभन्दा माथिको सफलता दर देखिएको छ। गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक रणनीति तयार पार्ने बताएको छ।

शैक्षिक क्षेत्रको समग्र सुधारको लागि उच्च सफलता प्राप्त गर्ने विद्यालयहरूलाई प्रोत्साहन र कम नतिजा देखाउने विद्यालयहरूलाई विशेष निगरानीमा राखी कार्य योजना अघि बढाइने गाउँपालिका स्रोतले जनाएको छ।