इन्द्रावती गाउँपालिकामा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

२१ फाल्गुन २०८१, बुधबार ११:३८

इन्द्रावती गाउँपालिका-५ को आयोजनामा पालिका स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै ऐशेलुखर्क मावि को खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन पालिकाभित्रका सबै वडाहरूलाई आह्वान गरेको छ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता फागुन २७, २८ र २९ गते हुने छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३० हजार रुपैयाँ नगद, दोस्रो स्थान प्राप्त गर्ने टोलीले २० हजार रुपैयाँ, भने तेस्रो स्थान प्राप्त गर्ने टोलीले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

वडा कार्यालयका अनुसार खेलकुदलाई प्रोत्साहन गर्दै युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास तथा आपसी मित्रता वृद्धि गर्ने विश्वास गरिएको छ।