इन्द्रावती गाउँपालिकाद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२४ फाल्गुन २०८१, शनिबार १०:३९

रुपक कोइराला देवराज सुवेदी

सिन्धुपाल्चोक— ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा सचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा १२ वटै वडाका महिला उद्यमीहरूले उत्पादन गरेका तरकारी, खाद्यान्न, कपडा, जडीबुटी लगायतका सामग्रीको स्टल राखिएको थियो। पालिकाले सहभागी महिला उद्यमीहरूलाई नगदसहित सम्मानसमेत गरेको छ। यसैक्रममा वडा नम्बर १ लाई उत्कृष्ट स्टलका रूपमा विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि प्रत्येक वडामा तालिम सञ्चालन गरी त्यस क्षेत्रको विशेषता अनुरूप उद्यम प्रवर्द्धन गरिएको बताउनुभयो। साथै, गणतन्त्र स्थापनापछि महिलाहरूको हक अधिकार सुनिश्चित गर्न राज्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कृषि तथा पशुपालन मार्फत पालिकालाई समृद्ध बनाउन विभिन्न संस्थासँग सहकार्य गरि कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।

पालिकाकी उपाध्यक्ष सोभना तामाङले महिलाहरूलाई केवल लगानी मात्र होइन, आवश्यक प्रोत्साहन समेत दिनुपर्नेमा जोड दिनुभयो। उहाँले आयआर्जन र रोजगारीको माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन पालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा विभिन्न वडा अध्यक्षहरू, महिला संगठनका प्रमुख तथा स्थानीय प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न सहकारी संस्था तथा महिला समूहहरूले सचेतनामूलक नाटक, गीत तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरी विशेष रौनक थपेका थिए।

कार्यक्रम सञ्चालन पशु सेवा शाखाकी संगिता खत्रीले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले दिवसको महत्त्वबारे प्रकाश पार्नुभयो।

महिला बालबालिका तथा जेष्ठ नागरिक समिति संयोजक राधिकादेवी तिमल्सिनाको सभापतित्वमा सम्पन्न यस कार्यक्रमले महिला उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।