२०८२जेठ १७, काठमाडौं
एमाले सिन्धु-काठमाडौ सम्पर्क मञ्चको भ्रमण टोली हालै धार्मिक तथा पर्यटकीय गन्तव्य आमा याङ्ग्री यात्रामा निस्किएको छ। टोलीले सामाजिक, सांस्कृतिक र राजनीतिक क्रियाकलापलाई जोड दिंदै हरेक वर्षजस्तै यसपटक पनि सिन्धुपाल्चोक जिल्लाभित्रको महत्त्वपूर्ण स्थलको अवलोकन भ्रमण गरेको हो।
सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम भागमा अवस्थित आमा याङ्ग्री समुद्री सतहबाट ३,७७१ मिटरको उचाइमा रहेको छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। आमा याङ्ग्री ट्रेकिङ मार्गलाई नजिकको र सहज पदयात्राको रूपमा लिइन्छ जहाँबाट लाङटाङ, जुगल, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री, भेमाथाङ, गान्छेन्पो लगायत दुई दर्जनभन्दा बढी हिमालको दृश्यावलोकन गर्न सकिन्छ। साथै यात्राका क्रममा सहभागीहरूले ह्योल्मो समुदायको कला–संस्कृति, भाषा, भेषभूषा र जीवनशैलीको प्रत्यक्ष अनुभव पनि गर्न पाएका छन्।
संपर्क मञ्चले विगतदेखि नै सामाजिक उत्तरदायित्व, राजनीतिक सञ्जाल विस्तार, रचनात्मक क्रियाकलाप तथा स्थानीय सम्पदाको प्रवर्द्धनमा सक्रियता देखाउँदै आएको छ। मञ्चका अध्यक्ष द्वारीका प्याकुरेलले काठमाडौंको कोलाहलपूर्ण जीवनशैलीबाट एक दिन भए पनि मुक्त भई स्वच्छ वातावरणमा समय बिताउने उद्देश्यले यो यात्रा आयोजना गरिएको बताए। साथै, उनले यस्ता कार्यक्रमहरूले संगठनलाई थप चलायमान बनाउने र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यसपटकको भ्रमण टोलीले मेलम्ची हुँदै सिन्धुपाल्चोककै प्रख्यात धार्मिक स्थल पाल्चोक भगवतीको पनि अवलोकन भ्रमण गरेको थियो। अघिल्लो वर्ष मञ्चले पाँचपोखरी क्षेत्रको भ्रमण गरेको स्मरण गराउँदै मञ्चले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने एमाले हेलम्बु पालिका कमिटी, नेता हस्त पण्डित, कमल नेपाल, टपिन्द्र तिम्सिनालगायत सबैलाई उपाध्यक्ष राधा सापकोटाले धन्यवाद ज्ञापन गरेकी छन्।




